लोकसभा चुनावको तेश्रो चरणको मतदान, अमित शाह र राहुल गान्धीको परीक्षा शुरु

एनआइबि संवाददाता, नयाँ दिल्ली
भारतको तल्लो सदन लोकसभाकालागि तेश्रो चरणको मतदान मंगलबार शुरु भएको छ । भारतीय निर्वाचना आयोगका अनुसार १४ राज्य र केन्द्र शासित एक राज्यमा ११७ स्थानकालागि मतदान भइरहेको छ ।
तेश्रो चरणको चुनावमा भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह, भारतीय काँग्रेसका अध्यक्ष राहुल गान्धी, चर्चामा रहेका युवा नेता हार्दिक पटेल लगायत अन्य केन्द्रिय मन्त्रीहरुको भाग्य दाँवमा लागेको छ । भाजपा अध्यक्ष शाह गुजरातको गान्धीनगरबाट चुनाव लडदैछन भने राहुल गान्धी केरलको वायनाडबाट चुनाव लडदैछन् ।
मंगलबारको मतदानमा प्रधानमन्त्री नरेन्द्र मोदीले गृहनगर अहमदाबादको निशान उच्च माध्यमिक विद्यालयको स्कुल मतदान केन्द्रमा मतदान गरेका छन् । आफ्नी ९० वर्षीय आमा हीराबेनसँगै उनले मतदान गरेका हुन् ।
त्यसैगरि भाजपा अध्यक्ष अमित शाहले पनि गुजरात मै मतदान गरेका छन् । शाह प्रधानमन्त्रीसँगै गृहनगर पुगेका थिए । गुजरातका सबै २६ स्थानकालागि मंगलबार नै मतदान भएको छ । गुजरातबाट ३ सय ७१ जना चुनावी मैदानमा छन् ।
मंगलबार केरलाको २० स्थानकालािग चुनाव भएको छ । केरलको वायनाडबाट काँग्रेस अध्यक्ष राहुल गान्धी चुनावी मैदानमा उत्रेका छन् । यससँगै असमका चार , बिहारका पाँच, छत्तीसगढका ११, कर्नाटक र महाराष्ट्रका १४–१४ , उडिसाका ६ ,उत्तर प्रदेशको १० , पश्चिम बंगालको ५, गोवा २ दादरा र नगर हवेली , दामन र डिउ र त्रिपुराका १ –१ स्थानमा चुनाव हुँदैछ ।
सन् २०१४को आम निर्वाचनमा यी क्षेत्रहरुबाट भाजपा र यसका गठबन्धन समेतले गरेर ६६ स्थान जितेको थियो भने काँग्रेस र यसको गठबन्धनमा रहेका दलहरुले २७ स्थानमा मात्र विजय हासिल गरेका थिए ।
मंगलबारकै चुनावमा उत्तर प्रदेशमा समाजवादी पार्टीका नेता एवं पूर्व मुख्यमन्त्री मुलायमसिंह यादव सहित परिवारका चार सदस्यका सार्थै विवादमा मुछिएका पार्टीका वरिष्ठ नेता आजम खान तथा अभिनेत्री एवं भाजपा नेतृ जया प्रदाको भाग्यको फैसला गर्नेछ ।
लोकसभा चुनावकालागि अप्रिल ११ र १८ मा दुइ चरणको मतदान सम्पन्न भइसकेको छ । निर्वाचन आयोगका अनुसार अप्रिल ११मा भएको पहिलो चरणको चुनावमा ६९ दशमलब ४३ प्रतिशत मतदान भएको थियो । सो चुनावमा १८ राज्य एवं दुइवटा केन्द्र शासित प्रदेशमा ९१ स्थानकालागि भएको थियो ।