अस्ताए खय्यामः संगीतको एक युगको देहावसान

खय्यामलाइ भारतका वरिष्ट कार्टुनिष्ट जयन्तो बेनर्जीको हार्दिक श्रद्धान्जलि
एनआइबि संवाददाता,नयाँ दिल्ली
भारतीय सिनेमाका दिग्गज तथा प्रसिद्ध संगीतकार खय्यामको सोमबार निधन भएको छ । ९२ वषीैय संगीतकारको कार्डियक अरेस्ट (हृदयघात) का कारण मृत्यु भएको हो । मुम्बइको सुजय अस्पतालमा लामो समयदेखि अतिसघन कक्ष(आइसियू)मा भर्ना रहेका खय्यामलाइ सोमबार राती ९ बजेर ३० मिनेटमा हृदयघात भयो र उनको निधन भएको अस्पतालले जनाएको छ । मंगलबार उनको अन्तिम संस्कार गरिने भएको छ। लामो समयदेखि फोक्सोको संक्रमणबाट पिडित संगीतकारको पुरा नाम मोहम्मद जहुर खय्याम ‘हाशमी’ थियो तर उनी खय्यामले नै प्रसिद्ध भए ।
प्रधानमन्त्री नरेन्द्र मोदीले खय्यामको निधनलमा दुख व्यक्त गरेका छन् । ‘खय्याम साहबको निधनबाट अत्यन्त दुखी छु , उहाँको अविस्मरणीय धुनले अनगिन्ति गीतलाइ अमर बनाएको छ जुन सदैव स्मरणिय रहनेछ । उहाँले साँगीतिक क्षेत्रमा दिएको असिमित योगदानले चलचित्र तथा कला जगत सदैव ऋणी रहनेछ । नयाँ कलाकारहरुलाइ सहयोग गर्न तत्पर रहने उहाँको मानवीय व्यवहार पनि उत्तिकै यादगार छ ।’ उनले टिविट गर्दै भने ।
समग्र बलिउड नै उनको निधनमा शोकमग्न भएको छ । अमिताभ बच्चन , लता मंगेशकर, आशा भोसले लगायत बलिउडका थुप्रा कलाकारले उनको निधनमा शोक व्यक्त गरेका छन्।
खय्यामको संगीतमा भारतीय शास्त्रीय संगीत मिश्रित गजलको स्पर्श सुनिन्छ । गीत आत्मीय ,मधुर र भावपूर्ण छ । इन आँखो कि मस्ती के (उमराव जान),आजा रे आजा ओ मेरे दिलबर आजा(नुरी),मै पल दो पलका शायर हुँ(कभी कभी), ये दिले नादान(रजिया सुल्तान), दिखाइ दिए(बजार), खानदान, थोडी सी बेवफाइ जस्ता चलचित्रमा सदाबहार र कालजयी संगीत भरेका खय्याम संगीत नाटय एकेडेमी पुरस्कार , पदम भुषणबाट पनि सम्मानित थिए । उनले तीनवटा फिल्मफेयर अवार्ड पनि हात पारेका थिए । अलविदा खय्याम….