केन्द्रकै निर्देशन मानेर संघीयताको अभ्यास कति?
एनआईबि संवाददाता, काठमाडौँ
प्रदेश ३ को नाम र राजधानी केन्द्रको निर्देशन बम्मोजिम नै रहने तय भएको छ। १३ पुषमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठकले प्रदेश ३ को नाम बाग्मती र राजधानी हेटौँडा राख्न प्रदेशसभालाई निर्देशन दिएको थियो।
शुक्रबार प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलको निवासमा बसेको नेकपा संसदीय दलको बैठकले केन्द्रको निर्देशनलाई स्वीकार गर्ने निर्णय गरेको हो। बैठकमा सहभागी प्रदेशसभा सदस्य नारायण दहालले प्रदेशको नाम बाग्मती र राजधानी हेटौँडा राख्ने सहमति भएको जानकारी दिएका छन्।
मुख्मयन्त्री पौडेलको निवासमा बसेको बैठकमा प्रदेश नाम र राजधानीका विषयमा मतदान हुँदा आफ्ना सम्पूर्ण प्रदेश सभासद्लाई उपस्थित हुन पनि संसदीय दलले आफ्ना सांसदलाई आग्रह गरेको छ। यस्तै नेकपा संसदीय दलले मतदानका लागि ह्वीप नै जारी गर्ने तयारी गरेको बताइएको छ।
तर काभ्रे पूर्वका सांसद्हरुले प्रदेश ३ को नाम र राजधानीमा असहमति जनाएका छन् । उनीहरुले संसदीय दलमा असहमति पत्र दर्ता गर्ने बताइएका छन्।
यसअघि प्रदेशको नाममा कुनै विमती नभए पनि राजधानी हेटौंडा बनाउने विषयमा भने नेकपाका केही प्रदेश सभा सदस्यहरुले असहमति जनाउँदै आएका थिए। उनीहरुले हेटौंडा राजधानी राख्ने प्रस्ताव आएमा आफूहरुले फ्लोरक्रस गरेर त्यसको विरुद्धमा मतदान गर्ने चेतावनी दिएका थिए।
तर प्रदेश ३ का शीर्ष नेतृत्व पनि यमिा विभाजित भएपछि यो विषयले विवादको रुप लिएको थियो। प्रदेशका शीर्ष नेतालाई बालुवाटार बोलाएर प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दहाल, महासचिव विष्णु पौडेल लगायतका नेताले सचिवालयको निर्णय कार्यान्वयन गर्न निर्देशन दिएपछि प्रदेशको नाम र राजधानीका विषयमा चलेका सबै विवाद अन्त्य हुने आश गरिएको छ।
यस्तै नेकपा प्रदेशसभाको एक सांसदका अनुसार केन्द्रले नाम र राजधानीका विषयमा असन्तुष्ट रहेका प्रदेशसभाका सांसदलाई प्रदेशमन्त्री बनाउन पहल पनि गरेका छन्। हाल ७ सदस्य रहेको प्रदेश ३ को सरकारलाई बढाएर ११ सदस्यीय बनाउने तयारी पनि गरिएको उनले जानकारी दिएका छन्।
कुल १ सय १० सिट रहेको प्रदेश ३ सभामा नेकपा एक्लैको ८० सिट रहेको छ।