PRAWAS

दिल्लीमा राजदूत आचार्यले भने,संविधानले समावेशी राजनीतिकालागि मजबुत आधार तयार पारेको छ

भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभाललाइ समेत थियो निमन्त्रणा

एनआईबि संवाददाता,नयाँ दिल्ली

भारतकालागि नेपाली राजदूत तथा संविधानविद् नीलाम्बर आचार्यले सामाजिक न्यायमा आधारित समावेशी संविधान रहेको बताएका छन् । चौथो संविधान दिवस र राष्ट्रिय दिवसका अवसरमा नयाँ दिल्लीको लि मेरिडियन होटलमा आमन्त्रित अतिथिहरुलाइ सम्बोधन गर्दै आचार्यले भने,‘समावेशी संविधानले सामाजिक न्यायमा आधारित समावेशी राजनीतिकालागि मजबुत आधार तयार पारेको छ र यसले लोकतान्त्रिक शासनका सबै मूलभुत मूल्य र मान्यतालाइ समेटेको छ ।’

भारतीय विदेश राज्य मन्त्री वी.मुरलीधरण मुख्य अतिथि रहेको कार्यक्रममा विभिन्न राजनीतिक दलका भारतीय नेता, सांसद,भारत स्थित विदेशी कुटनीतिक नियोगका प्रतिनिधी,भारतीय उद्योगी व्यवसायी,बुद्धिजीवी, संचारकर्मी,अध्येता,लगायत प्रवासी नेपालीहरुको उपस्थिति रहेको थियो । उपस्थित समुदाय समक्ष संविधानको समावेशी स्वरुप बारे थप व्याख्या गर्दै आचार्यले भने,‘संघीय संसदकालागि मिश्रित चुनावी प्रणालीले महिलाको साथै नेपालका विविध समाजका विभिन्न समुदायको प्रतिनिधित्वलाइ सुनिश्चित गराएको छ ।’

पंचशीलको सिद्धान्तमा आधारित असंलग्न परराष्ट्र नीतिलाई नेपालले अंगीकार गरेको भन्दै आचार्यले अन्तराष्ट्रिय कानुन र सर्वभौमिक मापदण्डमा आधारित नेपालको विदेश नीति स्वतन्त्र रहेको उल्लेख गरे। उनले भने , ‘हाम्रो विश्वका सबै मित्रराष्ट्रहरुसँगे राम्रो सम्बन्ध रहेको छ भने छिमेकीहरुसँग घनिष्ट सम्बन्ध छ ।’
दिल्लीको लि मेरिडियन होटलमा भारतकालागि नेपाली राजदूत नीलाम्बर आचार्यलाइ संविधान दिवसको शुभकामना दिदै भारतीय विदेश राज्य मन्त्री वी.मुरलीधरण ।

कार्यक्रममा उनले नेपाल भारत सम्बन्धको व्यापकता र बहुआयामिक प्रकृति बारे उल्लेख गर्दै उनले दुइ मुलुकबीचको आर्थिक संलग्नता घनिभुत भएको भने । उनले आर्थिक आयामकालागि नेतृत्व र कार्यान्वय दुवै स्तरमा ध्यान केन्द्रित भएको बताए । दुइ मुलुकबीच कनेक्टिभिटी र भौतिक पूर्वाधारको विकास उच्च प्राथमिकतामा रहेको भन्दै उनले जलश्रोत र जलविद्युतको साथै व्यापार,पारवहन र लगानीमा सहयोग बढेको बताए ।

अजित दोभाल आएनन

संविधान दिवसको कार्यक्रममा नेपाली दूतावासले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत दोभाललाइ समेत विशेष आमन्त्रण गरेको थियो । ७ बजेदेखि शुरु भएको कार्यक्रममा ७ देखि ७.१५का बीचमा सहभागी हुने भनेर दोभालको नीजी सचिवालयले दूतावासलाइ भनेको थियो । तर दोभाल सहभागी भएनन । श्रोतका अनुसार अन्तिम समयमा दोभालको कार्यक्रम किन रद्द भयो , यसबारे दूतावासलाइ पनि जानकारी आएन ।

‘नेपालको संविधान विश्वमै उत्कृष्ट’

एनआईबि संवाददाता,नयाँ दिल्ली

नेपालको संविधान विश्वमै उत्कृष्ट रहेको संविधानविद् तथा भारतकालागि नेपाली राजदूत निलाम्बर आचार्यले बताएका छन् । भारतको राजधानी नयाँ दिल्लीमा  आयोजना गरिएको एक विशेष कार्यक्रममा आचार्यले सो कुरा बताएका हुन् ।आचार्यले संविधानमा केहि असंतुष्टि भएपनि त्यसलाइ समयसापेक्ष संसोधन गर्ने व्यवस्था पनि यसमा रहेको प्रष्ट पारे ।

संविधान दिवसको अवसर  पारेर दुतावास सभाहलमा विभिन्न संघसंस्थाका प्रतिनिधी तथा प्रवासी नेपालीहरु सम्मिलित कार्यक्रममा राजदूत आचार्यले विश्वका अन्य मुलुकहरुको संविधानको उत्कृष्ट प्रावधान बारे चर्चा गर्दै नेपालको संविधानले अंगिकार गरेको समावेशिताको पक्ष महत्वपूर्ण रहेको बताए । ‘त्यसैले यो संविधान विश्वकै उत्कृष्ट संविधान हो,’ उनले भने ।

उनले विशेष गरि भारतमा बसोबास गर्दै आएका प्रवासी नेपालीहरुलाइ बसाइको क्रममा मुलुकको सम्मानमा आँच आउने काम नगर्न आग्रह समेत गरे । शुक्रबार संविधान दिवसको अवसरमा राजदूत आचार्यले दूतावासको प्रांगणमा नेपालको राष्ट्रिय झण्डा फहराएर सबैलाइ शुभकामना समेत दिएका थिए ।

२०६२–६३को जनआन्दोलनपछि जारी भएको अन्तरिम संविधान (सन्२००७)लाइ विस्थापित गर्दै २०७२ असोज ३ गते ( २० सेप्टेम्बर २०१५) मा गणतान्त्रि व्यवस्था सहितको नयाँ संविधान जारी गरिएको थियो । तात्कालिन राष्ट्रपति डा. राम वरण यादवले यो संविधान जारी गरेका थिए । सरकारले प्रत्येक वर्ष सोहि दिनलाइ संविधान दिवस तथा राष्ट्रिय दिवसको रुपमा मनाउँदै आएको छ ।

अमृतसरको जेलबाट मुक्त भए डिल्लिराम थारु,नेपाल फर्काइए

भारतस्थित नेपाली दूतावास सक्रिय भएकै हो ?

एनआईबि संवाददाता, नयाँ दिल्ली

भारतको पन्जाब राज्यको अमृतसरस्थित केन्द्रीय कारागारबाट नेपाली नागरिक डिल्लीराम थारुलाइ रिहा गराइएको छ । बिना कारण पछिल्लो साढे दुइ वर्षदेखि कारागरमा रहेका थारुलाइ भारत स्थित नेपाली दूतावासको पहलमा छुटाइएको हो । भारतीय विदेश मन्त्रालयसँगको सिधा समन्वयबाट गृहमन्त्रालय हुँदै कारागार प्रशासनसँगको प्रकृया पुरा गरेर थारुलाइ छुटाइएको दूतावासले जनाएको छ ।
बुधबार कारागार प्रशासनले थारुलाई नेपाली दूतावासका काउन्सिलर तथा एसएसपी प्रकाश अधिकारीको जिम्मा लगाएको थियो । थारुलाइ लिएर अधिकारी नेपाल तर्फ लागिसकेका छन । उनका आफन्तलाइ खबर गरिसकिएको जानकारी गराउँदै अधिकारीले कपिलवस्तुको तौलिहवा जिल्ला प्रशासन कार्यालयमा परिवारलाइ जिम्मा लगाउने बताए । ‘रिपाट्रिएसनको प्रकृया पुरा गरेर शनिबार उनका आफन्तलाइ जिम्मा लगाउँछौं’, नेपाल जाँदै गरेका अधिकारीले फोनमा कुराकानीमा गर्दै भने ।

भारतका अन्य जेलमा यसैगरि अनाहकमा रहेका नेपालीहरु बारे विदेश मन्त्रालयसँग कुरा गरिसकेको र  चाडैनै   अन्य नेपालीहरुलाइ समेत रिहा गराउन पहल गरिने अधिकारीले बताए । । ‘अन्य नेपालीहरुबारे जानकारी उपलब्ध गराउन हामीले विदेश मन्त्रालयलाइ आग्रह गरिसकेका छौं,’उनले भने ।

रोजगारीको खोजीमा कपिलवस्तु, वाणगंगा नगरपालिका,पिपरा गाउँका डिल्लीराम साढे दुई वर्षअघि चण्डीगढ आएका थिए । चण्डीगढमा आफ्ना नागरिकता लगायतका कागजात समेत हराएपछि उनी आफनो परिचय खुलाउन नसकेर अमृतसर जेल सम्म पुगे ।

भारतीय जेलमा रहेका अन्य नेपालीहरुकालागि बाटो खुल्यो

थारुको रिहाइले भारतका अन्य जेलहरुमा कैदी जीवन बिताइरहेका नेपाली र उनका आफन्तलाइ समेत आशा जगाएको छ । केहि समयअघि मात्र भारतका विभिन्न जेलहरुमा ६सय १२ नेपालीहरुले कैदी जीवन बिताइरहेको तथ्याँक सार्वजानिक भएको थियो । भारतीय राष्ट्रिय अपराध तथ्याँक शाखा(नेशनल क्राइम रिकर्डस ब्यूरो–एनसीआरबि)ले जारी गरेको प्रिजन स्टाटिस्टिक्स २०१६ले दोषी प्रमाणित भएका २११ र विचाराधिन मुद्दामा रहेका ४०१ नेपालीहरु रहेको उल्लेख गरेको थियो ।

भारतको साहित्य एकेडेमी युवा पुरस्कार कवि भट्टराईलाइ प्रदान

एनआइबि संवाददाता,नयाँ दिल्ली

काव्य विधाकालागि ‘भारतको साहित्य एकेडेमी युवा पुरस्कार २०१९’ युवा संस्कृत कवि युवराज भट्टराइलाइ प्रदान गरिएको छ । भट्टराईलाई संस्कृत भाषामा लेखेको भक्तिपरक वाग्विलासिनी काव्यकालागि यो पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशि ५० हजार रुपैया रहेको छ । असमको दिब्रुगढमा आयोजित एक समारोहमा एक साता अघि युवा भट्टराइलाइ ताम्रपत्र सहित नगद पुरस्कार प्रदान गरिएको हो ।

भारत सरकारको भाषा एवं संस्कृति मन्त्रालय अन्तर्गत रहेको साहित्य एकेडेमीले प्रत्येक वर्ष यो पुरस्कार प्रदान गर्दै आएको छ । भारतमा मान्यता प्राप्त २४ भाषाहरु मध्ये सिन्धि बाहेक यो वर्ष २३ विधाकालागि मात्र पुरस्कार प्रदान गरिएको हो । यो पुरस्कारकालगि प्रत्येक वर्ष प्रदान गरिने यो पुरस्कारकालागि १ जनवरी सम्म ३५ वर्ष उमेर नाघेको हुननहुने प्रावधान रहेको छ ।

यो वर्षको पुरस्कारमा सबैभन्दा बढि कविता विधाको वर्चश्व रहेको थियो । यो पटक कविता विधामा ११ पुस्तक, कथाका ६, उपन्यास विधाका ५ र साहित्यिक आलोचनाको १ कृति रहेको छ । यो पुरस्कार छनौट समितीमा २३ भाषाका भाषाविद्हरु सहभागि थिए ।

लुम्बिनी प्रदेश अन्तर्गत पाल्पा जिल्लाको मणि ठूलाचौर गाउँमा जन्मिएका कवि भट्टराईले प्रारम्भिक शिक्षा स्थानिय जनप्रिय प्राथमिक विद्यालयमा पुरा गरेका थिए । त्यसपछि संस्कृत अध्ययनकालागि उनी नयाँ दिल्ली स्थित शारदादेवी संस्कृत विद्यापीठ गुरुकुलमा भर्ना भए । दिल्लीको लाल बहादुर शास्त्री राष्ट्रिय संस्कृत विद्यापीठबाट पाणिनीय व्याकरणमा स्नातक गरे । व्याकरण विषयमा दिल्लीकै हंसराज कलेजबाट स्नातकोत्तर सकाएका भट्टराई अहिले दिल्ली विश्वविद्यालयको कला संकाय अन्तर्गत संस्कृत विभागबाट विद्यावारिधी गदैछन् ।

हाल उनी दिल्लीको अल इन्डिया रेडियोमा नेपाली तथा संस्कृत भाषामा समाचार सम्पादक र वाचकको रुपमा कार्यरत छन् भने दुरदर्शनको डीडी न्यूज च्यानलको संस्कृत डेस्कमा अन्र्तवार्ता सम्पादक र उदघोषकको रुपमा समेत संलग्न छन् । संस्कृतको पारम्परिक र आधुनिक धारामा भट्टराइको वाग्विलासिनी र मनोनुरंजिनी नामक दुइ काव्यहरु प्रकाशित छन् ।

पंजाबको भटिण्डामा सडक दुर्घटनामा दुइ नेपालीको मृत्यु

एनआईबि संवाददाता,नयाँ दिल्ली

रोजगारीको सिलसिलामा भारतको पंजाब राज्यको भटिन्डा शहर पुगेका दुइ नेपालीको सडक दुर्घटनामा परेर मृत्यु भएको छ । विहिबार राति करीब १० बजेतिर भएको दुर्घटनामा परेका यी दुइ नेपालीको स्थानिय सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मृतकको पहिचान अर्घाखाँची जिल्ला पाणिनी गाबिस ३ का किशन बहादुर र सितगंगा नगरपालिकाका विष्णु बहादुरको रुपमा गरिएको अखिल भारतीय नेपाली एकता मंचका पंजाब सदस्य गोपाल रेश्मीले जानकारी गराएका छन् । मोटरसाइकलमा सवार यी दुइ युवाहरु भटिण्डाबाट मण्डी चौपाया तर्फ फर्किदै गर्दा दुर्घटनामा परेका थिए । मृतककाे अनुमानित उमेर  क्रमशः ३५  र ३२  वर्ष रहेकाे बताइएकाे छ । विहिबार राती ९.३० बजे स्थानिय पेट्रोल पम्पमा पेट्रोल भराएर निस्किए पछि उनीहरु दुर्घटनामा परेको पम्पका कर्मचारीले दिएको जानकारी उद्धृत गर्दै रेश्मीले भने । ‘दुर्घटना पश्चात स्थानिय ‘जनसेवा सारा’ भन्ने एक संस्थाका स्वंयसेवीहरुले उनीहरुलाइ अस्पताल पुरयाएका थिए,’ रेश्मीले जानकारी दिए ।

नेपालमा मृतकका आफन्तहरुलाइ खबर गरिसकिएको र उनीहरुको आएपछि मात्र पोष्टमार्टम लगायतका प्रकृया गरिने रेश्मीले जानकारी दिए । मृतकका आफन्त शनिबार पुग्दैछन् । अहिले शव स्थानिय अस्पतालमै राखिएको छ । मृतक मध्ये एक स्थानिय होटलमा र अर्का ढावामा कुकको काम गर्ने गरेको बुझिएको छ । ३० वर्षदेखि भटिण्डामै बसोबास गर्दैआएका रेश्मीले दिएको जानकारी अनुसार यी दुइ युवाहरु पछिल्लो बाह्र पन्ध्र वर्षदेखि रोजगारीकालागि भटिण्डा आवत जावत गर्दथे ।

‘भारतीय जेलमा रहेका नेपाली कैदीहरुको तथ्याँक सार्वजानिक’,विभिन्न राज्यका जेलमा ६१२ नेपाली कैदीहरु

कैदीहरुको समस्याबारे सर्वेक्षण गरिदै, भारत स्थित नेपाली दूतावास बेखबर

एनआईबि संवाददाता,नयाँ दिल्ली

भारतका विभिन्न जेलहरुमा ६सय १२ नेपालीहरुले कैदी जीवन बिताइरहेका छन् । भारतीय राष्ट्रिय अपराध तथ्याँक शाखा(नेशनल क्राइम रिकर्डस ब्यूरो–एनसीआरबि)ले भर्खरै जारी गरेको एक तथ्याँक प्रतिवेदनले यो संख्या सार्वजानिक गरेको छ । भारतका १ हजार ४ सय १२ जेलहरुमा रहेका कुल ६ हजार ३ सय ७० विदेशी कैदीहरुको सुचीमा नेपाल नेपाल दोश्रो स्थानमा रहेको छ । पहिलो स्थानमा बंगलादेश छ । जेलमा ३ हजार ७ सय ७० कैदीहरु बंगलादेशका नागरिक रहेका छन् ।

एनसीआरबीले प्रकासित गरेको ‘प्रिजन स्टाटिस्टिक्स२०१६’ वार्षिक प्रतिवेदनमा भारतका दिल्ली लगायत विभिन्न १३ राज्यहरुका जेलहरुमा कुल ६हजार ३ सय ७० विदेशी कैदीहरु मध्ये ६१२ नेपाली रहेको उल्लेख छ । जसमध्ये दोषी प्रमाणित भएका २११ र मुद्दा विचाराधिन रहेका ४०१ रहेका छन् । दोषी र विचाराधिन कैदीहरु क्रमशः८.९ र १२.३ प्रतिशत रहेको छ । कुल कैदीको ९.६ प्रतिशत नेपालीहरु रहेका छन् ।

एनसीआरबिले नागरिकताको आधारमा फरेन नेशनल क्याटेगोरी अन्तर्गत यो तथ्याँक संकलन गरिएकाे हाे । जेलको संख्या,प्रकार,कैदी संख्या, जेल क्षमता, क्षमता भन्दा बढीको भार, दोषी प्रमाणित, विचाराधिन, नजरबन्द, मृत्यु भएका कैदी, विदेशी नागरिक लगायतका शीर्षकमा अध्ययन पछि यो तथ्याँक  सार्वजानिक गरेको हो ।

एनसीआरबीले २०१७ अप्रिलदेखि अगस्त २०१८ डिसेम्बर सम्मको अध्ययनपछि यो प्रतिवेदनले सार्वजानिक गरेको हो । सन् १९९५ देखि प्रकाशन गर्दै आएको शाखाकाे याे २२ औं संस्करण हो । यसअघि लिंग र उमेरका लगायतको आधारमा तथ्याँक सार्वजानिक गर्दै आएको थियो । यस पटक कैदीहरुको विदेशी राष्ट्रियता शीर्षक नै राखेर तथ्याँक जारी गरेको छ । २०१४मा पनि विभिन्न देशका नागरिकहरुको छुट्टा छुट्टै सुची सार्वजानिक गरेको थियो ।

कुन जेलमा कति नेपाली ?

दोषी प्रमाणितहरुको संख्या

दोषी प्रमाणित भएका २११ मध्ये नेपालीहरु उत्तर प्रदेशका जेलहरुमा सबैभन्दा बढि छन् । दिल्ली समेत विभिन्न ९ राज्यहरुका जेल मध्ये उत्तर प्रदेशका जेलहरुमा ११२ जना नेपालीहरु छन् ।
उत्तर प्रदेश–११२, हिमांचल प्रदेश–४०,दिल्ली–११,जम्मु कश्मीर–८,महाराष्ट्र–८,उत्तराखण्ड–८,गोवा–७, पंजाब–७,बिहार–७,मध्य प्रदेश–३

विचाराधिन मुद्दामा रहेका नेपालीहरुको तालिका

दिल्ली समेत गरेर १५ राज्यमा विचाराधिन मुद्दामा रहेका नेपाली कैदीहरुको संख्या ४०१ रहेको छ। जसमध्ये युपीका जेलमा सबैभन्दा बढि १७३ नेपालीहरु रहेका छन् ।
उत्तरप्रदेश–१७३,दिल्ली–५०,हिमांचल प्रदेश–४५,बिहार–४१,महाराष्ट्र–३१,पंजाब–१५,उत्तराखण्ड–१०,कर्नाटक–९,पश्चिम बंगाल–८,जम्मु कश्मीर–७,गोवा–३,तमिल नायडु–३,केरला–३,राजस्थान–२,गुजरात–१

श्रोतः‘प्रिजन स्टाटिस्टिक्स २०१६’, नेशनल क्राइम रेकर्डस ब्यूरो,भारत

विदेशी कैदीहरुको समस्या बारे सर्वे गरिदै

विविध अपराधमा भारतीय जेलमा रहेका विदेशी कैदीहरुको समस्याका बारेमा एकेडेमी अफ प्रिजन्स एण्ड करेक्सनल एडमिनिस्ट्रेसन(एपीसिए)ले सर्वे गर्ने भएको छ । यो सर्वे ६ महिनाभित्र सक्ने लक्ष्य राखिएको छ । भारतीय जेलमा अमेरिका, ब्रिटेन, अष्ट्रेलिया,साउथ अफ्रिका, बंगलादेश, नेपाल, म्यानमार लगायतका मुलुकहरुका कैदीहरु रहेका छन् । यी मुलुकहरुले आ– आफ्ना दूतावास मार्फत कैदिहरुको सहुलियत दिनकालागि सुझावहरु पनि बुझाएको भारतीय संचारमाध्यमले खबर छापेको छ । दूतावासहरुको माँगका कारण एपीसिएले सर्वेक्षण गर्न लागेको हो । दिल्लीको ब्रिटिस उच्चायोगमा भएको एक बैठक पछि यो सर्बे बारे निर्णय गरिएको भारतीय संचारमाध्यमले लेखेको छ ।

नेपाली दूतावास बेखबर

यो तथ्याँकबारे भारतमा रहेको नेपाली दूतावास बेखबर छ । नेपाली दूतावासका उच्च अधिकारीसँग सम्पर्क गर्दा आफूहरु समक्ष जानकारी नआएको बताए । यो खबर बारे जानकारी लिन खोजेपछि बल्ल दूतावासले विदेश मन्त्रालयमा तथ्याँक उपलब्ध गराउन कुरा गरेको दूतावासका एक अधिकारीले भने । यस अघि नेपाली दूतावासले पनि भारतीय जेलमा रहेका नेपालीहरु बारे तथ्याँक संकलन गर्ने बताएको थियो ।

नेपाली दूतावासले आफैले पनि भारतका जेलहरुमा रहेका नेपाली कैदीहरुको तथ्याँक संकलन गरिरहेको उनले जानकारी गराए । पहिलो चरणमा तथ्याँक संकलन गर्ने भनेर दूतावासले झण्डै डेढ वर्षअघि भनेको थियो । अहिले सम्म त्यसमा खासै प्रगति भएको छैन्। ‘हामीसँग त्यस्तो खासै कुनै तथ्याँक संकलन भएको छैन, दूतावासका एक अधिकारीले भने ।

विदेशी उच्चायोगहरुले बैठक गरेर आफ्ना कैदी नागरिकहरुकालागि बलियो पैरवी गरेर विदेशी कैदीहरुको सर्वे नै हुन लागेको छ । दूतावासले कैदीहरुका सम्बन्धमा उपलब्धिमुलक तत्परता नदेखाएको गुनासो भारतमा रहेका प्रवासी नेपालीहरुले निरन्तर गर्दै आएका छन् ।  भारतको केरला, कर्नाटक,महाराष्ट्र,,पंजाब,राजस्थान,तमिल नायडु,चण्डीगढका जेलहरुमा रहेका नेपालीहरुले कष्टकर कैदी जीवन बिताइरहेको समाचार सार्वजानिक भइरहे पनि नेपाल सरकारले गम्भीरतापूर्वक पहल नगरेको गुनासो भारतका नेपाली समुदायहरुले पटक पटक गरिरहेका छन् ।

उनीहरुले भारत भ्रमणमा आएका सरकारका मन्त्रीहरु,राजनीतिक दलका नेताहरुलाइ भेटेर निम्न आर्थिक अवस्थाका अधिकांश नेपालीहरुले बिना अपराध पनि लामो समयदेखि कष्टकर कैदी जीवन यापन गरिरहेको भन्दै उनीहरुको रिहाइकालागि पहल गर्न पटक पटक आग्रह समेत गरिसकेका छन् ।

नेपाललाइ राष्ट्र बनाउने बीपीको सपना तर नेपाल राज्य बन्यो, राष्ट्र बन्न सकेन

दिल्लीमा बीपीको संझना र योगदानको चर्चा

एनआईबि संवाददाता, नयाँ दिल्ली

जीवनको बाल्यकालदेखि युवा उमेरको अधिकांश समय भारतमा प्रवासी जीवन बिताएका बीपीले भारतको स्वतन्त्रता संग्राममा पनि सक्रिय र नेतृत्वदायी भुमिका निर्वाह गरेका थिए । जसका कारण उनले दुइ पटक भारतीय जेलमा समेत कैदी जीवन बिताए । त्यसैले भारतमा आज पनि बीपीलाइ उच्च सम्मानका साथ स्मरण गरिन्छ ।

बीपीको १०५औं जन्मजयन्तीको अवसर पारेर नयाँ दिल्लीमा आयोजना गरिएको एक कार्यक्रममा सहभागी वक्ताहरुले बीपीको व्यक्तित्व र उनको प्रवासी जीवनका बारे प्रकाश पारेका थिए । नेपाललाइ राष्ट्र बनाउने बीपीको सपना थियो । इन्दिरा गान्धी कला केन्द्रका अध्यक्ष तथा वरिष्ठ पत्रकार राम बहादुर रायले बीपीको सपना माथि प्रकाश पार्दै भने नेपालमा ब्रिटेनको जस्तो लोकतान्त्रिक व्यवस्था स्थापित होस भन्ने बीपीको चाहना थियो । नेपाललाइ राष्ट्र बनाउन उनले सम्पूर्ण जीवन खर्चे तर नेपालको दुर्भाग्य र समस्या , नेपाल राज्य पहिले बन्यो र राष्ट्र बन्ने दुष्चर्कमा फँसेको छ।’
उनले बीपीलाइ नेपालको महात्मा गान्धीको संज्ञा दिए । ‘भारतमा महात्मा गान्धीको जुन स्थान छ , नेपालमा त्यही स्थान बीपीको छ । नेपालमा उनीभन्दा ठूलो र महान राजनीतिक नेता अहिलेसम्म जन्मिएका छैनन् ।’ उनले थपे ।

अन्तराष्ट्रिय बी.पी.चिन्तन प्रतिष्ठान, भारतले आयोजना गरेको ‘बी.पी. कोइराला र प्रवासी जीवन’ कार्यक्रममा बोल्दै रायले भने, ‘बीपी जति राजनितिज्ञ थिए उति नै आध्यात्मिक । गान्धीले पनि सम्पूर्ण जीवन राजनीतिको लडाइ लडे तर उनी धार्मिक र अध्यात्मिक पनि थिए । बीपीले पनि आफ्नो सम्पूर्ण जीवन नेपालमा लोकतन्त्रको स्थापना र स्थायित्वकालागि खर्चे तर उनी आध्यात्मिक व्यक्ति पनि थिए । त्यसकारण भारतमा गान्धीको जुन स्थान छ त्यहि नेपालमा बीपीको छ ।’ बनारस,पटना र दिल्लीमा बीपीलाइ धेरै पटक देखेको भएपनि उनको संगत भने गर्न नपाएको बताए । ६८ वर्षको उमेरमा निधन भएका बीपीलाइ त्यतिबेला पुरै दुनियाँले महान नेताको रुपमा याद गरेको पनि स्मरण गरे ।

विद्यार्थी जीवनकालमा बीपीको थोरबहुत संगत गर्न पाएका भारतका केन्द्रिय कौशल विकास तथा उद्यमशीलता राज्य मन्त्री महेन्द्र नाथ पाण्डेले बीपीलाइ संझिदै भने, लोकतान्त्रिक अग्रणी नेता बीपीले नेपाल भारत बीचको एकतालाइ मजबुत बनाउन दिएको योगदानलाइ भारतवासीले कहिल्यै बिर्सन सक्दैन् । बीपी १९३०र १९४२मा भारतको स्वतन्त्रता आन्दोलनको क्रममा जेल हालिएका थिए । बीपीको महात्मा गान्धी, जवाहरलाल नेहरु, राममनोहर लोहिया,जयनारायण प्रकाश(जेपी), अटल विहारी बाजपेयी,दीनदयाल उपाध्याय लगायतका नेताहरुसँग निकै घनिष्ठ सम्बन्ध रहेको थियो । भारतका तात्कालिन प्रधानमन्त्री चन्द्रशेखरसँग उनको पारिवारिक सम्बन्ध थियो ।’ बिहारको जेपी आन्दोलनमा पनि बीपीले साथ दिएको उनले स्मरण गरे ।

‘बीएचयुको विद्यार्थी जीवनकालमा म व्यक्तिगत रुपमा बीपीसँग जोडिएको थिए । त्यतिबेला म छात्र संघको महामन्त्री थिए । हामीले राष्ट्रिय अन्तराष्ट्रिय विद्यार्थीहरुलाइ भेला गराएर नियमित छलफल कार्यक्रम राख्थ्यौ , त्यसमा हामीले प्रवासी जीवन बिताइरहेका बीपीलाइ बोलाउँथ्यौ र सुन्ने अवसर पाएका थियौं ,उनले थपे ।

’प्रवासी जीवन बिताउने क्रममा बीपीले भारतलाइ दिएको साथलाइ चन्द्रशेखरले कहिल्यै बिर्सेका थिएनन । ‘हिन्दुस्तानमाथि बीपीको ऋण छ त्यसलाइ चुक्ता गर्न आएको हुँ उनले नेपालको प्रजातान्त्रिक आन्दोलनलाइ समर्थन दिन पुगेको बेला भनेका थिए,’ चन्द्रशेखरका राजनीतिक सल्लाहकार एचएन शर्माले संझिए ।

भारतको स्वतन्त्रता संग्रामको आन्दोलनलाइ समर्थन गर्नुको पछाडि बीपीको एउटा विश्वास थियो त्यो के भने भारत स्वतन्त्र हुनासाथ नेपालमा लोकतन्त्र बहाली हुनसक्छ । एशिया,दक्षिण एशियाली क्षेत्र मै स्वतन्तत्राको विगुल फुकिन्छ भन्ने बीपीलाइ लाग्थ्यो । १९४६मा भारतमा जवाहरलाल नेहरुको नेतृत्वमा अन्तरिम सरकार बन्यो । लगत्तै बी.पीले नेपालमा राणशासनको विरुद्ध लोकतन्त्रको संघर्ष हुनुपर्ने भन्दै एक अपिल जारी गरेका थिए ।

आन्दोलन र जन जनबीचको सम्पर्कबाट नेपाल भारतबीच जुन किसिमको सम्बन्ध बीपीको पालामा बनेको थियो अहिले त्यस्तो अवस्था छैन । सम्बन्धमा खटास आएको छ । त्यसैले दुइ मुलुकबीच सम्बन्धको पूनरावलोकन गर्दै युवा नेतृत्वहरुलाइ जोडदै थप प्रगाढ सम्बन्ध बनाउन प्रतिष्ठानले श्रृखंलाबद्ध कार्यक्रमहरु गर्दै आएको छ, यसैको एक कडी यो कार्यक्रम हो , प्रतिष्ठानका संस्थापक संदीप रानाले भने ।

कार्यक्रममा सहभागी नेपाली काँग्रेका वरिष्ठ नेता तथा सभासद डा नारायण खडका , दिलेन्द्र बडु तथा पूर्व अर्थराज्य मन्त्री उदय शमशेर राणा, नेपाली काँग्रेस जनसम्पर्क समिती भारतका अध्यक्ष बालकृष्ण पाण्डे लगायतले बीपीको योगदान र उनको भारतसँगको सम्बन्धमाथि प्रकाश पारेका थिए ।

हिमाँचल पुग्यो प्रभु

एनआईबि संवाददाता, नयाँ दिल्ली

प्रभु मनि ट्रान्सफरले भारतको हिमाँचल प्रदेशमा आफ्नो सेवा बिस्तार गरेको छ । प्रभुले हिमाँचल प्रदेशको ‘दि एचपी स्टेट को–अपरेटिभ बैंक लिमिटेडसँग रेमिटान्स संझौता गरेर आफ्नो सेवा बिस्तार गरेको हो । प्रभु मनि ट्रान्सफरका भारत प्रमुख सुनिल मिश्राले बैंकसँगको संझौतामा हस्ताक्षर गरे । यो संझौता सँगै हिमाँचल प्रदेशमा रहेका प्रवासी नेपालीहरुले बैंकका करीब २४० शाखाहरुबाट नेपाल पैसा पठाउन सक्नेछन ।

नेपालको पश्चिम र सुदुर पश्चिम क्षेत्रबाट कामको खोजीको सिलसिलामा हिमाँचल प्रदेशका विभिन्न जिल्लामा नेपालीहरु सिजन अनुसार आउने जाने क्रम चलिरहेको हुन्छ । काँगरा,मण्डी र सिमला तीन डिभिजन अन्तर्गत रहेको हिमाँचल प्रदेशका चम्बा,काँगरा,उना,किन्नौर,सिमला,सिरमौर,सोलान, विलासपुर,हामीपुर,कुल्लु,लाहौल र स्पिति र मण्डी लगायत १२ जिल्लामा पर्ने विभिन्न गाउँ तथा शहरहरुमा कामको खोजीमा नेपालीहरु पुगेका छन् ।

उनीहरुले मेहनत मजदरी गरेर कमाएको पैसालाइ सुरक्षित तरीकाले बैंकिंग च्यानलको माध्यमबाट नेपाल पठाउन प्रभु र दि एचपी स्टेट को–अपरेटिभ बैंकको संझौताले विश्वासिलो विकल्प प्रदान गरेको छ । भारतबाट पठाएको पैसा नेपालमा प्रभुका ८००० भन्दा बढी रेमिट्यान्स काउन्टरहरुबाट तत्काल प्राप्त गर्न सकिनेछ ।

दिल्लीको तालकटोरा स्टेडियममा तीजको रमाइलो

एनआईबि संवाददाता,नयाँ दिल्ली

हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीज प्रवासमा रहेका महिला दिदीबहिनीहरुले पनि मनाईरहेका छन । यसै अवसरमा आइतबार नयाँ दिल्लीको तालकटोरा स्टेडियममा पनि नाच,गान र रमाइलो गरेर तीजको भव्य कार्यक्रम सम्पन्न गरियो । भारतीय नेपालीहरुको संस्था हाम्रो स्वाभिमान ट्रष्टले आयोजना गरेको कार्यक्रममा परम्परागत कला र संस्कृति झल्किने रातो पहिरनमा सजिएका महिलाहरुले विभिन्न कार्यक्रम प्रस्तुत गरेका थिए । नेपालका ख्याति प्राप्त लोक तथा दोहोरी गायक रामजी खाँड र गायिका सुनिता दुलालको प्रस्तुतिले दर्शकदीर्घालाइ नचाएको थियो ।

कार्यक्रममा विशेष अतिथि भारतीय जनता पार्टीका लोकसभा सांसद राजु विष्टले समग्र महिलाहरुलाइ तीजको शुभकामना दिदैं भर्खरै भारत सरकारद्धारा असम राज्यमा जारी गरिएको राष्ट्रीय नागरिक दर्ता(एनआरसी) सुचीले कुनै नेपाली र गोर्खालीहरुलाई असर नपर्ने आश्वासन दिए । त्यसैगरि आफु दार्जी्लिङको छुट्टै राज्यको मुद्धा उठाएर संसदमा पुगेको भन्दै विष्टले आगामी पाँच वर्षभित्र यसको स्थायी समाधान निकाल्ने दाबी समेत गरे ।

कार्यक्रममा आचार्य बालकृष्णको उपस्थिति रहने भनिएतापनि कार्यव्यस्तताका कारण उनी उपस्थित हुन सकेनन् । हाम्रो स्वाभीमान ट्रस्ट आचार्य बालकृष्णको संरक्षकत्वमा संचालित सामाजिक संस्था हो । नेपाली मुलका आचार्य बालकृष्णले भारतमा रहेका नेपाली भाषीहरुको उत्थानकालागि यो ट्रस्टलाइ संरक्षकत्व प्रदान गर्दै आएका छन् ।
ट्रष्टले प्रत्येक वर्ष हरितालिका तीज भव्य समारोहको आयोजना गरेर मनाउँदै आएको छ । २०१४ देखि मनाउन शुरु गरेको तीजको यस वर्षको कार्यक्रममा झण्डै तीन हजार नेपालीहरुको सहभागिता रहयो । मध्यान्ह १२ बजेपछि शुरु गरिएको कार्यक्रममा साँझ सम्पन्न भएको थियो । समारोहमा स्थानिय कलाकारहरुले पनि बेजोड प्रस्तुती दिएका थिए ।

दिल्लीमा हातेमालोले गरयो नयाँ नेतृत्व चयन

एनआइबि संवाददाता,नयाँ दिल्ली

भारतको राजधानी दिल्लीमा सिए अध्ययनरत विद्यार्थीहरूले स्थापना गरेको सङ्गठन ‘हातेमालो नेपाली विद्यार्थी समूह’को एघारौं वार्षिक साधारण सभाले रोशन कुमार यादवको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ । संगठनले उपाध्यक्षमा सुनिल श्रेष्ठ, सचिवमा आरक्षण रिजाल, सचिवमा आरक्षण रिजाल,सह–सचिवमा सुनिधि केसी र कोषाध्यक्षमा रोशन बस्नेत (निर्विरोध) चयन गरेको छ ।

सदस्यहरूमा समिर अधिकारी,सुरेस बम,सिद्धार्थ केसी, साजिर हुसेन,विपुल चौलागाँई, अमिसा पौडेल, शिशिर भुसाल,ललित घोस,लक्ष्मण पंजियार,अन्जन कुमार शाही निर्वा्चित भएका छन् । नयाँ दिल्लीको लक्ष्मीनगर स्थित टपर्स इन्स्टिच्यूटमा सम्पन्न साधारण सभाले यो कार्यसमिती चयन गरेको हो । यस अघि सरोज सुवेदीले हातेमालोको नेतृत्व गरेका थिए । संगठनले ७ जना पब्लिक रिलेसन प्रतिनिधी पनि चयन गरेको छ । अनूपम भटृराई र ईश्वर कँड़ेल (शारदा विश्वविद्यालय), बिकास पौडेल (बैंगलोर), सविन घले, कृष्ण पोखरेल,नकूल रेग्मि र सुशान्त पौडेल रहेका छन् ।

रिलिज अघि नै ‘साहो’को चर्चा चुलियो

कार्यक्रममा नव निर्वाचित अध्यक्ष रोशन कुमार यादवल आफ्नो कार्यकालमा हातेमालोलाई विद्यार्थीहरूको चौतर्फी विकासमा थप सहयोग पुरयाउने प्रतिवद्धता व्यक्त गरे ।
औपचारिक कार्यक्रम पश्चात् सम्पन्न सांस्कृतिक साँझमा नेपाली कला, संस्कृति झल्किने विभिन्न नृत्य,गायनहरू प्रस्तुत गरिएको थियो । त्यस्तै कार्यक्रममा कविता, गजल र हास्य ब्यंग्य पनि प्रस्तुत गरिएको थियो ।

दिल्लीमा एक नेपाली बालकको उद्धार

दश वर्षअघि स्थापना भएको हातेमालो संस्थाले भारतमा सीए अध्ययनरत तथा नेपालबाट अध्ययनका सिलसिलामा आएका विद्यार्थीहरुका समस्याहरु समाधान गर्न सहयोगी भुमिका निभाउँदै आएको छ। त्यसैगरि गैरराजनीतिक यो संस्थाले नेपालको कला,संस्कृति तथा भाइचाराको सम्बन्धलाइ तरोताजा बनाइराख्न विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । हातेमालो संस्थाले बेलाबेलामा जन–चेतनामूलक कार्यक्रम, हाजिरी जवाफ प्रतियोगिता, आर्थिक छलफलका कार्यक्रम लगायत सहयोग अभियान, तथा नेपाली संस्कृतिको पहिचान गराउने खालका साँस्कृतिक कार्यक्रमहरुको आयोजना गर्दै आएको छ।

Nepal news headlines | breaking news kathmandu | national news of nepal live