भारतमा कोरोना भाइरस संक्रमितको संख्या ७८ हजार नाघ्यो,दिल्लीमा संक्रमितको संख्या ८ हजार बढी
नयाँ दिल्ली,मे १४
भारतमा बिहिवारसम्म कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ७८ हजार ३ जना पुगेको छ । गत २४ घण्टामा भारतमा थप ३ हजार ७२२ जना कोरोना भाइरस संक्रमित थपिएको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
भारतमा बुधबार एक दिनमा १३४ को मृत्यु भएको र यसपछि प्रकोपबाट मृत्यु हुनेहरुको सख्या २ हजार ५४९ जना पुगेको छ । यस संक्रमणबाट निको भएका बिरामीको संख्या २६ हजार २३५ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ ।
भारतमा बिहीबार बिहानसम्मको तथ्यांक अनुसार कोरोनाबाट संक्रमित ४९ हजार २१९ जना अस्पतालमा उपचार गराइरहेका छन् ।
कोभिड–१९ बाट सबैभन्दा बढी महाराष्ट्रका नागरिक संक्रमित भएका छन् । महाराष्ट्रमा मात्र २५ हजार ९२२ नागरिक संक्रमित रहेका छन् ।
महाराष्ट्रपछि गुजरात दोस्रो स्थानमा रहेको छ । त्यहाँ ९ हजार २६७ जनामा कोरोना भाइरसको संक्रमण रहेका छन् भने तमिलनाडू ९ हजार २२७ संक्रमति रहेका छन् ।
दिल्लीमा कोरोना भाइरस संक्रमितको संख्या ८ हजार नाघेको छ ।
कोराना भाइरसको (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी लकडाउनलाई थप दुइ साताको लागि लम्बाएको थियो । भारतले गत मे ४ देखि लागू हुने गरी थप दुइ साताको लागि तेस्रो चरणको लकडाउन गर्ने निर्णय गरेको थियो ।
भारतमा पहिलो चरणको लकडाउन २४ मार्चमा लगाइएको थियो । दोस्रो लकडाउन १५ अप्रिलमा शुरु भएको थियो । दोस्रो लकडाउन मे ३ मा सकिदै थियो । कोरोना भाइरसको संक्रमण देशभरी बढ्दै गएपछि दोस्रो लकडाउन नसकिदै तेस्रो लकडाउन मे १७ सम्मको लागि घोषणा गरिएको थियो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चौथो चरणको लकडाउन कस्तो प्रकारको हुने बारे केहि दिनमा सार्वजानिक गर्ने गत मंगलबारको सम्बोधनमा बताएका थिए ।