पाँचौ रायसीना डायलग नयाँ दिल्लीमा शुरु हुँदै , विश्वका १३ मुलुकका विदेशमन्त्रीको सहभागि, नेपालबाट भएन सहभागिता
एनआईबि संवाददाता,नयाँ दिल्ली
भू–राजनीतक, भू–आर्थिक एवं विश्वमा देखा परेको समस्याका विषयमा छलफल गर्ने कार्यक्रम रायसिना डायलग मंगलबार नयाँ दिल्लीमा शुरु हुँदैछ । भारत सरकारले प्रत्येक वर्ष आयोजना गर्ने यो कार्यक्रमको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उदघाटन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रमलाई उदघाटन गर्दै प्रधानमन्त्री मोदीले विश्वले हाल झेलिरहेको समस्याका विषयमा विभिन्न देशबाट कार्यक्रममा सहभागी हुन आउँने व्यक्ति माझ आफ्नो विचार राख्ने छन् ।
कार्यक्रममा सहभागी हुन करीब सय देशका सात सय प्रतिनिधि भारत आएको जनाइएको छ । कार्यक्रममा सहभागी हुन रुस, इरान, अस्ट्रेलिया, माल्दिभ्स, दक्षिण अफ्रीका, इस्तोनिया, चेक गणराज्य डेनमार्क, हंगेरी, लातविया, उज्बेकिस्तान सहित १२ देशका विदेशमन्त्री भारत आएका छन् । भने यूरोपियन यूनियनका प्रतिनिधि पनि कार्यक्रममा सहभागी हुँदैछन्।
विदेशमन्त्रालयका प्रवक्ता रवीश कुमारले जनाए अनुसार भारतीय तरिका, विकास र प्रतियोगिता आगामी शताब्दीका लागि तयारी विषयक सत्रलाई विदेशमन्त्री एस जयशंकरले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
२०१६देखि शुरु भएको रायसिना डाइलगको यो पाँचौ संस्करण हो । विदेशमन्त्रालय र भारतको थिंक ट्याँक अब्जरवर एण्ड रिर्सच फाउन्डेसनको संयुक्त आयोजनामा हुन लागेको रायसीमा डायलगको पाँचौ संस्करण तीन दिन सम्म चल्नेछ ।
नेपालबाट सहभागीता छैन
चौथो संस्करण सम्म नेपालबाट सहभागिता हुँदै आएको रायसीना डायलगमा यस पटक नेपालको सहभागिता छैन् । दुइ पटक नेपालका तर्फबाट परराष्ट्रमन्त्री तथा दुइ पटक परराष्ट्र सचिव सहभागी भएको यो डायलगमा नेपाल सहभागि भएन । २०१७मा तात्कालिन परराष्ट्र मन्त्री डा प्रकाश शरण महत सहभागी भएका थिए । गत वर्ष परारष्ट्रमन्त्री प्रदिप ज्ञवाली सहभागी भएका थिए । पहिलो र तेश्रो संस्करणमा परराष्ट्र सचिवको सहभागीता रहेको थियो ।