भारतमा कोरोना संक्रमितको संख्या चार हजार नाघ्यो
नयाँ दिल्ली, अप्रिल ६
भारतमा पछिल्ला केही दिनमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । यससँगै भारतमा सोमबार बिहानसम्म संक्रमितको संख्या ४ हजार ६७ जना पुगेको बताइएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअुनसार भारतमा यहाँ पछिल्लो १२ घन्टामा कम्तीमा पनि ४९० जनामा संक्रमण देखिएको छ । साथै भारतमा कोरोनाको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या पनि बढ्न थालेको छ । सोमबार बिहानसम्म ज्यान गुमाउने नागरिकको संख्या १०९ पुगेको सो मन्त्रालयले जानकारी दिएको छ ।
यी संक्रमितहरुमध्ये उपचारको क्रममा रहेका मध्ये २९२ जना भने उपचार गरी घर फर्किएका छन् । अरु ३ हजार ६६६ जना भने उपचाररत रहेका छन् । उनीहरु केही अस्पताल त केही आफ्नो घरमा नै निगरानीमा रही उपचार गराइरहेका छन् ।
भारतमा विस्तारै यसको प्रकोप बढ्न थालेको महसुश गरिएको छ । भारतका अरु राज्यको तुलनामा महाराष्ट्रमा यसका संक्रमितहरु बढेको देखिएको छ । महाराष्ट्रमा मात्र ६९० जना संक्रमित भेटिएको समाचारमा जनाइएको छ । त्यसैगरी त्यसपछि सबैभन्दा धेरै विरामी तामिलनाडुमा छन् । त्यहाँ ५७१ जना विरामी छन् भने नयाँ दिल्लीमा ५०३ जना विरामी रहेका छन् ।
भारतमा दुई सातायतादेखि देशैभर लकडाउनको घोषणा गरिएको छ । जसका कारण यहाँको जनजीवन निकै प्रभावित भएको बताइएको छ । तर यता दिन प्रतिदिन नयाँ संक्रमितहरु थपिँदै जान थालेपछि भने यो लकडाउनको अवधि पनि थप लम्ब्याउन सकिने देखिएको छ ।