भारतमा थप दुई हप्ताका लागि लकडाउन घोषणा
नयाँ दिल्ली,मे १
भारतमा लागु भइरहेको लकडाउनको अवधि फेरी दुई हप्ता थप गरिएको छ । भारतको केन्द्रीय गृह मन्त्रालयले यही मे ४ देखि गणना हुनेगरी थप दुई हप्ता लकडाउन लम्व्याउने निर्णय भएको शुक्रबार घोषणा गरेको हो ।
भारतमा यसअघि घोषणा गरिएको लकडाउनको अवधि यही मे ३ तारिखका दिन सकिने तय भएको थियो । प्रकोप व्यवस्थापन ऐन २००५ अनुसार लकडाउनको अवधि बढाउने निर्णय भएको मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।
सरोकारवाला र विज्ञहरुसँग गरिएको छलफलमा लकडाउन बढाउनुको बिकल्प नरहेको सुझाव आएपछि सरकारले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । लकडाउनको परिणाम अहिलेसम्म सन्तोषजनक देखिएको र लकडाउन अन्त्य गरेमा कोरोनाभाइरसको सङ्क्रमण व्यापक रुपमा फैलिन सक्ने अधिकांशको निष्कर्ष रहको बताइएको छ ।
सरकारले लकडाउन लम्ब्याउने निर्णय गरेपनि केही खुकुलो भने बनाएको छ । देशलाई कोरोनाभाइरसको सङ्क्रमणको अवस्थाका आधारमा विभिन्न तहमा विभाजन गरेर त्यसैका आधारमा लकडाउनको खुकुलो अवस्थालाई पनि निर्धारण गरिएको अधिकारीहरुको भनाई छ ।
भारतमा केन्द्रीय सरकारले कोरोनाभाइरसको सङ्क्रमणबाट अति प्रभावित, कम प्रभावित र प्रभाव नरहेको क्षेत्र भनेर वर्गीकरण गरेको छ । निश्चित क्षेत्रमा दैनिक उपभोग्य अत्यावश्यक सेवाका पसलहरु खोल्न दिने, साईकल, रिक्सा, अटोरिक्सा, ट्याक्सी लगायतका साना सवारी साधनहरु चल्न दिनेलगायतका व्यवस्थाहरु पनि लकडाउन लम्ब्याउने निर्णयमा उल्लेख गरिएको छ ।–एएनआई / रासस