भारतमा स्थगित कक्षा १० र १२ को परीक्षा जुलाई १ देखि हुने
नयाँ दिल्ली,मे ८
भारतमा कोरोनाभाइरस संक्रमणका कारण अवरुद्ध भएको कक्षा १० र १२ को परीक्षा आगामी जुलाई १ देखि हुनेभएको छ । केन्द्रीय माध्यामिक शिक्षा बोर्ड अन्तर्गतको सो परीक्षा आगामी जुलाई १५ सम्ममा सम्पन्न गरिने तय भएको छ ।
केन्द्रीय सरकार अन्तर्गत रहेर लिइने केन्द्रीयस्तरको यो परीक्षा सार्वजनिक तथा निजी दुवैथरी विद्यालयका छात्रछात्राहरुकालागि महत्वपूर्ण मानिने गर्छ । “विद्यार्थीहरुको अत्यधिक चासो र चिन्ताको विषय बनेको यो परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको छ,” केन्द्रीय जनशक्ति मन्त्री रमेश पोख्रियाले शुक्रबार भने ।
कोरोनाभाइरसको संक्रमण फैलिन थालेपछि सरकारले देशव्यापी लकडाउनको घोषणा गरेकाले यसअघि परीक्षा हुन सकेको थिएन । भारतमा अहिले पनि देशव्यापी लकडाउन कायमै छ ।––एएनआई । रासस