वायुसेवा कम्पनीहरुले ७० कटेका नागरिकलाइ छुट दिन नसक्ने

तस्वीर श्रोतःयोगेश भट्टराइको फेसबुक
एनआइबि संवाददाता,नयाँ दिल्ली
वायुसेवा प्रदायक कम्पनीहरुको छाता संगठन नेपाल वायुसेवा सन्चालक संघले हवाइ भाडामा नागरिकलाइ कुनै पनि निश्चित छुट दिन नसकिने बताएको छ । संघले पर्यटन,नागरिक तथा नागरिक उड्डयन मन्त्रालयलाइ पत्राचार गर्दै वायुसेवा कम्पनी सरकारले घोषणा गरेको छुट दिन नसक्ने स्पष्ट पारेको हो । तीन दिन अघि पर्यटनमन्त्री योगेश भट्टराइले आफनो एक वर्षे कार्ययोजना सार्वजानिक गर्दै ७० वर्ष उमेर माथिका नागरिकलाइ हवाइ भाडामा ५० प्रतिशत छुट दिइने घोषणा गरेका थिए । छुट सरकारले दिने अथवा वायूसेवा प्रदायक कम्पनीहरुले दिने निक्र्यौल नै नगरी मन्त्री भट्टराइले फ्याट्टै घोषणा गरे । नियमकानुनले पनि छुट दिने निर्णयलाइ बाध्यात्मक बनाउन नसकिने संघले बताएको छ ।
संघले पठाएको पत्रमा नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ र नागरिक उडड्यन नियमावली , २०५८मा समेत त्यस्तो कुनै बाध्यात्मक व्यवस्था नरहेको हुँदा आफूहरुले छुट दिन नसक्ने उल्लेख गरेको छ । तर सरकारले छुट दिने नीति लिएमा त्यसलाइ लागु गर्न भने तयार रहेको संघले स्पष्ट पारेको छ । वायुसेवा प्रदायक कम्पनीको असमर्थता पछि यो निर्णयमा पर्यटनमन्त्री भट्टराइको गृहकार्य फितलो देखिएको छ । जनतामा विश्वासिला युवा नेताको छवि बनाएका पर्यटनमन्त्री भट्टराइले जिम्मेबारी संभालेको प्रारम्भिक कालमै आफू हलुको बन्ने निर्णयहरु गरेका छन् । सस्तो प्रचारकालागि जनता लोभ्याउने प्रतिवद्धता सार्वजानिक गर्नु भन्दा पुरा गर्न सकिने विकासका व्यवहारिक कार्यमा ध्यान दिए पर्यटनमन्त्रीको ख्याति थप चुलिन्थ्यो होला ।