Main News

Trending News

A homepage section

सरकारद्वारा अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह

काठमाडौं,जुन २०

सरकारले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आमनागरिकलाई पुनः आग्रह गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को शुक्रबार बसेको बैठकले बाहिर निस्किनुपर्दा अनिवार्य मास्क प्रयोग गर्न र अनावश्यक भीडभाड नगर्न तथा भौतिक दूरी कायम गर्न आग्रह गरेको छ ।

बैठकले महामारी नियन्त्रणमा प्रदेश र स्थानीय सरकारले गरेका कामको उच्च मूल्याङ्कन गर्दै आगामी दिनमा थप समन्वय गर्दै लैजाने निर्णय गरेको केन्द्रका सदस्य एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । बैठकले देशैभरका क्यारेन्टिनस्थललाई थप व्यवस्थित गर्दै लैजाने र त्यसको अनुगमन र सहजीकरणको काम प्रदेश सरकारले गर्ने, क्वारेन्टिनमा रहेकाको शीघ्र स्वास्थ्य परीक्षण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राष्ट्रिय परीक्षण निर्देशिकाअनुसार गरेर त्यहाँ बसेको दुई हप्ताभित्र स्वास्थ्य परीक्षण सक्नुपर्ने निर्णय गरेको छ ।

संक्रमण बढ्दै गएपछि थप आइसोलेसन केन्द्रको आवश्यकता पर्ने र त्यसको व्यवस्थान गर्न प्रदेश सरकारलाई आग्रह गरिएको उहाँले बताए । कोरोनाको पिसिआर परीक्षण प्रयोगशालाको क्षमता बढ्दै गएको र शुक्रबार मात्रै छ हजार ३०० को स्वास्थ्य परीक्षण गरिएको मन्त्री ज्ञवालीले जानकारी दिए । परीक्षणको थप क्षमता बढाउनका लागि राष्ट्रिय परीक्षण निर्देशिकाअनुसार नमूना लिने र परीक्षण गर्ने निर्णय गरिएको छ ।

सम्बन्धित देशको सरकारले पनि खर्च नब्यहोर्ने र रोजगारदाता कम्पनीले पनि खर्च नब्यहोर्ने र आफ्नै खर्चमा फर्किन नसकी विदेशमा अप्ठ्यारो अवस्थामा परेका नेपाली श्रमिकको उद्धार गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई तत्काल निर्देशिका बनाउन निर्देशन दिने निर्णय गरिएको छ । साथै विदेशबाट स्वदेश ल्याइएका नेपालीको शव व्यवस्थापन गर्न श्रम मन्त्रालयलाई जिम्मा दिइएको छ ।

संक्रमण बढ्दै गएको अवस्थालाई ध्यानमा राखेर स्वास्थ्य मन्त्रालयले तयार गरेको नयाँ स्वास्थ्य सामग्रीको समग्र आपूर्ति योजनालाई शीघ्र व्यवस्थापन गर्न स्वास्थ्य मन्त्रालयलाई आग्रह गर्ने निर्णय गरिएको मन्त्री ज्ञवालीले जानकारी दिए । कोरोनाको संक्रमणका कारण स्वास्थ्य जोखिममा रहेका महिला, बालबालिका, वृद्धवृद्धा, फरक क्षमता भएकालगायत नागरिकको स्वास्थ्य परिक्षण र उपचारको व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिइएको छ ।

यसैगरी बैठकले विदेशस्थित नेपाली कूटनीतिक नियोगबाट काम गरेर स्वदेश फर्कनुपर्ने र नयाँ जिम्मेवारी सम्हाल्न जानुपर्ने कर्मचारी र उनका परिवारका सदस्यलाई जान छुट दिने निर्णय गरेको छ । साथै वैदेशिक रोजगारमा रहेर बिदामा नेपाल आएका र नयाँ रोजागारीका लागि विदेश जाने श्रमिकको हकका श्रम मन्त्रालय र विद्यार्थीको हकमा शिक्षा मन्त्रालयलाई सिफारिस गरेर उनीहरुलाई पठाउने निर्णय पनि गरिएको छ ।

बैठकले संक्रमण बढ्दै गएको र नयाँ आइसोलेसन र क्वारिन्टन बनाउनुपर्ने आवश्यकतालाई ध्यानमा राखेर केन्द्रीय कोभिड–१९ कोषबाट ३५ करोड रुपैया प्रदेश सरकारमार्फत सम्बन्धित पालिकालाई दिने निकासा दिने निर्णय गरेको छ । संक्रमण एकदमै बढ्दै गएपछि जोखिम मूल्यांकन ाङ्कन गरेर आवश्यक पर्दा सिङ्गो जिल्ला र खास पालिकालाई पूर्णरुपले सिलबन्दी गर्नसक्ने अख्तियारी प्रदेशलाई दिएको र त्यसको लागि सिसिएमसी केन्द्रको समन्वय गर्नुपर्ने उनले बताए । केन्द्रमा रहेका क्वारेन्टिन र होल्डिङ सेन्टरको खानपिनलगायतका व्यवस्थापन गर्ने जिम्मा बैठकले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई दिने निर्णय गरेको छ ।

भारत सामान्य अवस्थामा फर्किँदैछ : प्रधानमन्त्री मोदी

काठमाडौं,जुन १८

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत फेरि सामान्य अवस्थामा फर्किँदै गरेको बताएका छन् । विभिन्न बस्तु तथा सेवाहरुको उपभोग तथा माग बढ्दै गएकाले जनजीवन सामान्य हुँदै गएको उनले बिहीबार बताएका हुन् ।

कोरोनाभाइरसको सङ्क्रमण फैलिन थालेपछि सरकारले लकडाउन घोषणा गरेकोले असामान्य बनेको जनजीवन अहिले सामान्य बन्न लागेको उनको भनाइ छ । प्रम मोदीले व्यापारिक तथा आर्थिक गतिविधिहरु पनि तीब्र गतिमा बढ्दै गइरहेको बताए । लकडाउनका कारण उत्पादन, विक्री, माग र उपभोग पनि घटेकोमा अहिले फेरि बढ्न थालेको प्रधानमन्त्री मोदीले जानकारी दिए ।

व्यवसायीक कोइला उद्योगको उद्घाटन गर्दै उनले भने, “पछिल्लो समयमा फेरि पनि उपभोग र माग बढ्दै गएको छ भने आर्थिक गतिविधि र जनजीवन पनि सामान्य हँुदै गएको छ ।” कोरोनाका कारण सिर्जित लकडाउनभन्दा पहिलाको जस्तै अवस्थामा पुग्न लागिसकेको पनि उनले दाबी गरे ।

प्रधानमन्त्री मोदीले श्रोतहरुलाई उद्धृत गर्दै बताए अनुसार विद्युत तथा पेट्रोलियम पदार्थको माग पनि पहिला जस्तै हुन थालिसकेको छ ।“यी सङ्केतहरुले के प्रष्ट पार्दछन् भने आर्थिक गतिविधि तथा जनजीवन पहिलाको जस्तै हुन लागिसकेको छ, हामी पहिलाकै अवस्थामा फर्किदैछौँ,” उनले भने ।

कोरोनाका कारण लकडाउन लगाउनु परेको र विगत केही समय ठूलो भारतको अर्थतन्त्रमा समस्या देखिएको तर वर्तमान सामान्य हुँदै गएको प्रधानमन्त्री मोदीको भनाइ थियो । भारतको प्रगति र बृद्धि सुनिश्चित भएको दावी गर्दै उनले भारतलाई आत्मनिर्भर बनाउने बताए ।

“केही हप्तापछि हामीले एन ९५ मास्क, कोरोना टेष्ट किट्स, पिपिई, भेन्टीलेटरलगायतका सामग्रीहरु निर्यात गर्नेछौँ,” प्रधानमन्त्री मोदीले भने ।

संविधान दोश्रो संसोधन विधेयक राष्ट्रपतिद्धारा प्रमाणिकरण,नयाँ नक्सा निशान छापमा प्रकाशित गर्ने बाटो खुल्यो

काठमाडौं, जुन १८

लिपुलेक,लिम्पियाधुरा र कालापानी समेटेर जारी गरिएको नेपालको नयाँ नक्सा  निशान छापमा राख्ने संवैधानिक प्रकृया पुरा भएको छ । विहिबार नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ ’ राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण गरेपछि यो प्रकृया पुरा भएको हो । यो सँगै अद्यावधिक गरिएको नक्सा सहितको नेपालको निशान चिन्ह प्रकाशित गर्ने बाटो खुलेको छ ।

विहिबार अपरान्ह राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको नक्सा प्रमाणिकरणकालागि राष्ट्रपति कार्यालय पठाइएको थियो । राष्ट्रपति कार्यालयका प्रवक्ता हरि प्रसाद दाहालका अनुसार नेपालको संविधानको धारा २७४को उपधारा(१०) बमोजिम दोश्रो संसोधन विधेयक प्रमाणिकरण गरिएको हो ।

राष्ट्रपति कार्यालयद्धारा जारी विज्ञप्तिमा भनिएको छ,‘सम्माननिय राष्ट्रपति विद्यादेवी भण्डारीजयूले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भइ प्रमाणिकारणकोलागि पेश हुन आएको नेपालको संविधान(दोश्रो संसोधन) विधेयक २०७७ नेपालको संविधानको धारा २७४को उपधारा (१०) बमोजिक प्रमाणिकरण गर्नुभएको छ ।’

‘युद्ध अपराध हो,युद्ध रोक, शान्तिको प्रवर्द्धन गर’

काठमाडौं,जुन १८

युद्ध रोक्न र शान्तिलाई विस्तार गर्न माग गर्दै मानवअधिकार शान्ति समाजका अधिकारकर्मीहरुले भारतीय र चिनियाँ राजदूतावास अगाडि धर्ना दिएका छन् । भारत र चीनबीच सीमा विवाद चर्किदै गएको र दुई देशका सेना बीच भीडन्त हुँदा युद्ध बढ्ने सम्भावनालाई रोक्न माग गर्दै उनीहरुले विहीबार दूतावास अगाडि धर्ना दिएका हुन् ।

मानव अधिकार शान्ति समाज नेपालका संस्थापक सभापति कृष्ण पहाडीले चिनियाँ राष्ट्रपति र भारतीय प्रधनमन्त्री समक्ष उत्तेजनालाई नबढाउन, समझदारीलाई विस्तार गर्न, वार्ताबाट समाधान खोज्न र युद्धका कुनैपनि सम्भावनालाई खारेज गर्न दावाव दिन दुवै देशका राजदूतावास अगाडि एकैपटक धर्नामा बसिएको बताए । उनले युद्धले दक्षिण एसियाको शान्ति खल्बलिने र युद्ध कसैले पनि नजित्ने भएकाले युद्ध गर्न प्रोत्साहन गर्नु अपराध हुने बताए ।

अधिकारकर्मीहरुले ‘आवेगमा होइन विवेकको प्रदर्शन गर’, ‘युद्धको कुनैपनि सम्भावनालाई खारेज गर’, ‘समझदारी विस्तार गर’, ‘युद्ध निषेधः शान्ति विशेष’ ‘स्टप वार प्रोमोट पिस’, ‘वार इज क्राइम’ लगायत लेखिएका प्लेकार्ड बोकेर धर्ना दिएका थिए । केही दिन यता भारत र चीनबीच सीमा विवाद चर्किएको छ र दुईदेशका सेना बीच भीडन्त हुँदा २० जना भारतीय सेनाको निधन भएको थियो ।

राष्ट्रियसभाबाट सर्वसम्मतिले संविधान संशोधन विधेयक पारित

काठमाडौं,जुन १८

राष्ट्रियसभाको विहिबारको बैठकले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ ’ लाई सर्वसम्मतिले पारित गरेको छ । राष्ट्रियसभामा विहिबार उपस्थित कूल ५७ सांसदले नै ‘हुन्छ’ भन्ने पक्षमा मतदान गरेपछि राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले सरकारले ल्याएको संविधान संशोधन विधेयक सर्वसम्मतले पारित भएको घोषणा गरेका थिए । राष्ट्रियसभाका कूल ५९ सदस्यमध्ये अध्यक्ष गणेशप्रसाद तिमिल्सिना मत विभाजन प्रक्रियामा सहभागी भएनन् । सभामा बाँकी रहेका एक सदस्य भने मनोनयन भएका छैनन् । यसअघि गत शनिबार प्रतिनिधिसभाले उक्त संशोधनलाई सर्वसम्मतले पारित गरेको थियो ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेपछि अध्यक्ष तिमिल्सिनाले मत विभाजनका लागि आवश्यक प्रक्रिया अगाडि बढाएका थिए । राष्ट्रियसभाको बैठक कक्षको लबीमा तयार पारिएको मत विभाजनका लागि ‘हुन्छ’ भन्नेहरुलाई एकातिर र ‘हुन्न’ भन्नेहरुलाई अर्काेतिर मतदानका लागि प्रवेश गर्न आग्रह गर्दा सत्तापक्ष र प्रतिपक्षका सांसद एउटै लाममा रहेका थिए ।

संसदीय व्यवस्थामा सरकारका काम कारबाहीमा आलोचना, विरोध र खबरदारी गर्ने विपक्षीको धर्म मानिए पनि नेपालका कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरिएको नयाँ नक्शालाई संविधानको अङ्ग बनाउने मामिलामा विपक्षी दलले निःशर्त समर्थन गर्ने निर्णय यसअघि नै सार्वजनिक गरिसकेका थिए ।

प्रतिनिधिसभामा देखिएको दृश्य राष्ट्रियसभामा पनि उस्तै देखियो । सबै सांसदले ‘हुन्छ’ भन्नेतर्फको मत केन्द्रमा गएर आफ्नो दस्तखत गरी राष्ट्रियताका पक्षमा अभूतपर्व एकताको नमूना प्रस्तुत गरे । नेपालको संविधान जारी गर्दाका समयमा संविधानका पक्षमा मतदान नगरी बैठक बहिष्कार गर्ने मधेश केन्द्रित दलका सांसद पनि नेपालको नयाँ नक्शालाई अनुसूचीमा राख्ने प्रस्तावसहितको नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ का पक्षमा उभिए ।

अध्यक्षबाट उपस्थित सबै सांसदको मतले संशोधन पारित भएको घोषणा गर्दा सत्तापक्ष र प्रतिपक्षका सांसदले एकै लयमा समर्थन र स्वागतको ताली बजाएका थिए । मतदानमा सहभागी सबै सांसदले नयाँ नक्शाका पक्षमा मत जाहेर गरेपछि अतिक्रमित भूमि फिर्ता ल्याउन भारतसँग वार्ताका लागि नेपाल सरकारलाई थप ऊर्जा र बल मिलेको छ । नेपालको संविधानको धारा २७४ बमोजम संशोधन गर्न सक्ने प्रावधानअनुसार सरकारले संविधान संशोधन प्रस्ताव अगाडि बढाएको थियो ।

त्यसअघि कानूनमन्त्री डा तुम्बाहाङ्फेले राजनीतिक दलको एकता र सहकार्यले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता र अखण्डतालाई नयाँ उचाइमा पु¥याएको बताइन । “यो हाम्रा लागि सुखद् क्षण हो । राष्ट्रियताका सवालमा हामी एकै स्थानमा उभिएका छौँ”, उनले भनिन “संसदीय अभ्यासमा पनि आजको दिन महत्वपूर्ण र गौरवपूर्ण दिन हो ।” राष्ट्रियताका सन्दर्भमा दलगत विषयभन्दा माथि उठेर सबै राजनीतिक दल एकै स्थानमा उभिएकामा धन्यवाद दिँदै मन्त्री डा तुम्बाहाङ्फेले तथ्य र प्रमाणमा आधारित रहेर भारतसँग वार्ताका माध्यमबाट सरकार अगाडि बढ्ने स्पष्ट पारिन ।

राष्ट्रियसभाबाट अब पारित भएको सूचना प्रतिनिधिसभालाई दिइनेछ । प्रनिधिधिसभामा पारित भएको सन्देश सुनाएर सभामुखले प्रमाणिकरणका लागि राष्ट्रपति समक्ष पेश गर्नेछन् । राष्ट्रपतिले प्रमाणिकरण गरेपछि नेपालको निशान छापमा अद्यावधिक नक्सा समेटिने छ ।

सुरक्षा परिषदको अस्थायी सदस्यमा भारत, आयरल्यान्ड, मेक्सिको र नर्वे विजयी

१८ घण्टापछि खुल्यो नारायणगढ–मुग्लिन सडक

लद्दाकमा उत्पन्न तनाव बारे भारत र चिनियाँ विदेश मन्त्रीबीच कुराकानी, सीमाक्षेत्रमा शान्ति र संयम सुनिश्चित गर्न दुवै पक्ष सहमत

नयाँ दिल्ली,जुन १७

लद्दाक क्षेत्रमा भएको हिंसात्मक झडपको दुइ दिन पछि भारत र चीनमा विदेश मन्त्रीबीच टेलिफोन संवाद भएको छ । भारतीय विदेश मन्त्रालयका अनुसार भारतका विदेश मन्त्री सुब्रमन्यम जयशंकर र चिनियाँ विदेशमन्त्री वांग यीबीच बुधबार दिउँसो सो वार्ता भएको हो । हिंसात्मक झडप भएपछि दुइ विदेशमन्त्रीले पहिलो पटक टेलिफोन कुराकानी गरेका हुन् ।

विदेश मन्त्रालयका अनुसार टेलिफोन कुराकानीमा विदेशमन्त्री जयशंकरले घटनाप्रति भारत सरकारको तर्फबाट विरोध जनाएका थिए । उनले समकक्षी यीलाइ चीनको पूर्वनियोजित तथा योजनावद्ध कदम अनुरुप हिंसात्मक झडप भएको समेत बताएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘विदेशमन्त्रीले गलवान घाटीमा १५ जुन २०२०मा भएको हिंसात्मक झडपको बारेमा भारत सरकारको तर्फबाट कडा शब्दमा निन्दा गर्नुभयो । उहाँले ६ जुनमा उच्च सैन्य अधिकारीहरुको बैठकमा दुवै पक्षबीच वास्तविक नियन्त्रण रेखा (लाइन अफ एक्चुवल कन्ट्रोल–एलएसी) मा तनाव नबढाउने र स्वतन्त्र रहने सहमति भएको स्मरण गराउनुभयो ।’

‘यस विषयमा ग्राउण्डमा रहेका सैन्य अधिकारीहरु नियमित बैठक गरिरहेकोभ भन्दै त्यसका बाबजुद चिनियाँ पक्षले सहमतिलाइ तोडदै एलएसी क्षेत्रमा रहेको गलवान उपत्याकामा संरचना निर्माण गर्न खोजेका कारण विवाद उत्पन्न भएको विदेशमन्त्रीको भनाइलाइ उद्धृत गर्दै जारी विज्ञप्तिमा भनिएको छ ।

चिनियाँ पक्षको पूर्वनियोजित र योजनावद्ध कदम नै हिंसात्मक झडपकालागि जिम्मेबार छ र यसले सीमाको यथास्थिति परिवर्तन नगर्ने दुइ देशबीचका सबै संझौताको उल्लंघन भएको विदेशमन्त्रीलाइ उद्धृत गदै विज्ञप्तिमा भनिएको छ । यो अप्रत्यासित घटनाले दुइ मुलुकबीचको सम्बन्धमा गम्भीर असर पर्ने चेतावनी विदेशमन्त्रीले दिएको पनि विज्ञप्तिमा भनिएको छ ।

विदेशमन्त्री जयशंकरले चिनियाँ पक्षलाइ आफ्ना कार्यहरुको पूर्नमूल्याँकन गर्न र सुधारात्मक कदमहरु चाल्न आग्रह गर्दै सैन्य कमाण्डरहरुबीच ६ जुनमा भएका द्धिपक्षिय सहमतिलाइ इमान्दारीपूर्वक कार्यान्वयन गर्नुपर्ने र एलएसीलाइ दृढतापूर्वक सम्मान गर्नुपर्ने विचार राखेको बताइएको छ ।

कुराकानीको निष्कर्षमा दुवै पक्षले जिम्मेवार तरीकबाट स्थितिलाइ संभाल्ने सहमतिमा पुगेको विदेशमन्त्रलयले जनाएको छ । ‘६ जुनमा भएको सहमतिलाइ कार्यान्वयन गर्न तथा स्थितिलाइ उग्र नबनाउने बरु द्धिपक्षिय संझौता र प्रोटोकल अनुसार शान्ति र संयम सुनिश्चित गर्न दुवै पक्ष सहमत भएका छन् , यसलाइ परिवर्तन गर्न कुनै एकपक्षीय कारवाही गर्न नहुनेमा पनि सहमति भएको छ , विज्ञप्तिमा भनिएको छ । ’

१५ जुन सोमबार राती लद्दाकको गलवान उपत्यका क्षेत्रमा भएको हिंसात्मक झडपमा २० भारतीय सैनिकको मृत्यु भएको थियो भने ४ गम्भीर रुपमा घाइते भएका छन् । चीनतर्फको क्षतिको आधिकारिक विवरण जारी भएको छैन भने भारतीय संचारमाध्यमहरुले चिनियाँ संचारमाध्यमलाइ उद्धृत गर्दै ४५ सैनिक मारिएको खबर छापेका छन् । भारतीय संचारमाध्यमले चिनियाँ विदेश मन्त्रालय श्रोतलाइ उद्धृत गर्दै चीनका विदेश मन्त्रीले भारतलाइ झडपका दोषीलाइ दण्डित गर्न र सीमाक्षेत्रमा खटिएका सैनिकलाइ नियन्त्रणमा राख्न भनेको खबर छापेका छन् ।

‘इच्छाशक्ति भएमा महामारीका बेला पनि वार्ता गर्न सकिन्छ’

काठमाडौं,जुन १७

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले वार्ताका माध्यमबाटै भारतसँगका सबै समस्या समाधान गर्न नेपाल दृढ रहेको दोहो¥याउँदै इच्छाशक्ति भएमा महामारीका बेला पनि वार्ता गर्न सकिने बताएका छौं । राष्ट्रियसभाको बुधबारको बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत परराष्ट्र मन्त्रालयमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले इतिहासदेखि थाँती रहेका विषयको निरुपण वार्ताबाटै हुने नेपालको मान्यता रहेको र इच्छाशक्ति भएमा महामारी त्यसको बाधक नहुने यथार्थलाई भारतले आत्मसात् गर्नेमा आफू विश्वस्त रहेको बताए । यद्यपि उनले भारतको नाम उच्चारण भने गरेनन ।

मन्त्री ज्ञवालीले नेपालको नयाँ राजनीतिक एवं प्रशासनिक मानचित्रमा समेटिएका भूभागमाथि नेपालको भोगचलन कायम गर्न सरकार दृढतापूर्वक अघि बढेको उल्लेख गर्दै त्यसनिम्ति कूटनीतिक प्रयासलाई अझ प्रभावकारी तुल्याइने बताए । “हामी सत्यको पक्षमा छौँ र इतिहासले दिएको दायित्व पूरा गर्न प्रतिबद्ध छौ,” उनले भने,“ऐतिहासिक सन्धि–सम्झौता, प्रमाण र तथ्यले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि भएको पुष्टि हुन्छ ।”

मन्त्री ज्ञवालीले भारत र चीनसँग सुमधुर मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने सरकारको घोषित नीति रहेको बताउँदै उनीहरूका सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै सन्तुलित सम्बन्ध कायम गर्ने नीतिबाट नेपाल अविचलित रहेको स्पष्ट गरे । मन्त्रालयले सम्पादन गर्ने कामको प्रकृतिअनुसार चालू खर्च अधिक र पूँजीगत खर्च कम भएको स्पष्ट गर्दै उनले ‘पब्लिक डिप्लोमेसी’ प्रवद्र्धन गर्ने योजनामा मन्त्रालय रहेको जानकारी दिए ।

मन्त्री ज्ञवालीले आन्तरिक नीति र बाह्य परिस्थितिबीच तालमेल मिलाउँदै सञ्चालन गर्नुपर्ने परराष्ट्र नीति संवेदनशील विषय भएको यथार्थलाई मनन गर्दै राष्ट्रको एकल आवाज र ऐक्यबद्धतालाई प्रतिविम्बित गर्न राज्यद्वारा स्थापित संयन्त्रमार्फत त्यसो गर्दै आएको बताए । स्थापित र मान्य अन्तरराष्ट्रिय प्रचलनअनुरुप सम्बद्ध सबै पक्षले कूटनीतिक आचारसंहिताको निष्ठापूर्ण पालना गर्न तथा परराष्ट्र मामिला र कूटनीतिक विषयमा सार्वजनिकरुपमा विचार र धारणा व्यक्त गर्दा सोहीअनुरुपको संवेदनशीलतालाई आत्मसात गर्न उनले अनुरोध गरे ।

मन्त्री ज्ञवालीले आफ्नो मन्त्रालयले नेपालको परराष्ट्र नीतिको तर्जुमा र कार्यान्वयन बाह्य विश्व तथा अन्तरराष्ट्रिय संघसंस्थाहरुसँग द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय सम्बन्ध विस्तार, कूटनीतिको माध्यमबाट नेपालको राष्ट्रियहित प्रवद्र्धन, अन्तररष्ट्रिय जगत्मा नेपालको उज्यालो छवि निर्माण, आर्थिक तथा विकास कूटनीति सञ्चालन गरी देश विकासमा सहयोग पु¥याउन स्रोत र साधनले भ्याएसम्म काम गरिरहेको बताए । ––रासस

भारत शान्ति चाहन्छ तर युद्धका लागि उक्साए त्यसको जवाफ दिन सक्षम छौं– प्रधानमन्त्री मोदी

नयाँदिल्ली,जुन १७

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत छिमेकी मुलुक चीनसँग शान्ति चाहन्छ भन्दै सीमामा युद्ध भड्काउन खोजिए त्यसको जवाफ दिन भारत सक्षम रहेको प्रतिक्रिया दिएका छन् । लद्दाखस्थित भारत–चीन सीमावर्ती गलवान उपत्यकामा भारतीय र चिनियाँ सैनिकबीच भएको गोलाबारीमा २० जना भारतीय सैनिकको मृत्यु भएको सम्बन्धमा प्रतिक्रिया दिँदै प्रधानमन्त्री मोदीले उक्त कुरा बताएका छन् ।

कोरोनाभाइरसका कारण भारतमा जारी लकडाउनमा सहजीकरण गर्ने बारेमा राज्यका मुख्यमन्त्रीहरुसँग भिडियो संवाद गर्नुअघि प्रधानमन्त्री मोदीले सीमाक्षेत्रमा भएको घटनाका बारेमा राज्यका मुख्यमन्त्रीहरुलाई जानकारी गराएका थिए । उनले भने , “हामीले मानव कल्याणका लागि प्रार्थना गरेका छौं । हामीले छिमेकी मुलुकहरुसँग सदैब मित्रवत र सहयोगात्मक ढंगबाट कार्य गरिरहेका छौं । हामीबीच कुनै मतभेद भए त्यसले विवादको रुप नलिओस् भन्ने हामीले प्रयास गरेका छौं । हामी कहिल्यै कसैलाई उक्साउने कार्य गर्दैनौं । तर हामी मुलुकको अखण्डता र सम्प्रभुतामाथि कुनै किसिमको सम्झौता गर्दैनौं । हामीले आफ्नो मुलुकको अखण्डता र सम्प्रभुताको संरक्षणमा आवश्यक परेको अवस्थामा सम्पूर्ण शक्ति लगाएका छौं ।”

प्रधानमन्त्री मोदीले भारतीय सेनाले गरेको बलिदान खेर जान नदिने बताए । उनले भने,“हाम्रा लागि मुलुकको एकता र अखण्डता सबैभन्दा महत्वपूर्ण छ । कसैले पनि हाम्रो मुलुकको सुरक्षा गर्नबाट रोक्न सक्दैन । भारत शान्ति चाहन्छ तर उक्साउने कार्य भएमा जस्तोसुकै जवाफ दिन सक्षम रहेको छ ।”

प्रधानमन्त्रीको सम्बोधनका क्रममा गृहमन्त्री अमित शाह र १५ वटा राज्यका मुख्यमन्त्रीहरुको उपस्थिति थियो । उक्त कार्यक्रम हुनुअघि सीमामा मारिएका सैनिकको सम्मानमा दुई मिनेट मौनधारण गरिएको थियो ।

लद्दाखको गलवान उपत्यकामा चिनियाँ सेनासँगको भिडन्तमा कर्णेल सहित कम्तीमा २० जना भारतीय सेनाको मृत्यु भएको थियो । उक्त भिडन्तमा चिनियाँ सेनातर्फ भएको क्षतिका बारेमा केही बताइएको छैन ।

यसैबीच, गलवान उपत्यकामा भएको तनाबलाई लिएर चिनियाँ र भारतीय विदेशमन्त्रीबीच टेलिफोनमा सम्बाद भएको छ ।

press release link :

https://pib.gov.in/PressReleasePage.aspx?PRID=1632065
Nepal news headlines | breaking news kathmandu | national news of nepal live